ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका आइपिओ निष्कासन गर्ने मिति निर्धारण गरेको छ । ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।
यस साधारण सेयरको बिक्रीको लागि आगामी २३ गतेदेखि २७ गतेसम्म खुला रहनेछ । ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य राखेको जनाएको छ ।
यस कम्पनीले हाल दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्ने उद्देश्य सहित ०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री–सम्झौता गरिसकेको छ ।
जसमध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ वर्षभित्रमा उत्पादन प्रारम्भ हुने कम्पनीले जनाएको छ ।
दुई अर्ब ५० करोड अधिकृत पूँजी रहेको उक्त कम्पनीको यस निष्कासनपश्चात् चुक्ता पुँजी १ अर्ब ८० करोड रहनेछ । कम्पनीले सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीका लागि छुट्याएको सम्पूर्ण सेयर बाडँफाड गरिसकेको छ ।
पछिल्लो समय नेपाल ईन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको आईपिओ खुल्दा प्रार्थमिक शेयर बजारमा धेरैको चासो देखिएको थियो। हालसम्म कै ठूलो आईपिओ र आईपिओ पर्ने निश्चितताका कारण धेरैले डिम्याट खाता खोलेका थिए।