कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुश’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा भइरहेको चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ।
शनिबार काठमाडौँमा प्रेस मिट आयोजना गरी ‘स्टार क्रिकेट २०२१’ को बारे जानकारी दिइयो। एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन्।
प्रेस मिटमा उपस्थित कलाकार र खेलाडीहरूले क्रिकेटसमेत खेलेका थिए। नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेब्रिटी सहभागी हुने टुर्नामेन्टलाई दुई समूहमा बाँडिएको छ जसमध्य एक समुहलाई धुर्मुशले नेतृत्व गर्नेछन भने अर्को समुहलाई सुन्तलीले नेतृत्व गर्नेछिन्।
टुर्नामेन्ट माघ २४ गते चितवनको निर्माणाधीन रंगशालामा हुनेछ। टुर्नामेन्टबाट उठेको सम्पूर्ण रकम रंगशालाको निर्माणमा प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य र गृष्मा ब्रोडकास्टिङको आयोजनामा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का लागि रकम संकलन गर्न टुर्नामेन्ट हुन लागेको हो।