स्वस्थानीमा ‘स्व’ भनेको आफ्नो र ‘थान’ भनेको आफ्नो ठाउँको देवी हो त्यसैले स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । हिन्दू धार्मिक आस्था बोक्नेहरुका माझ अति लोकप्रिय र आस्थाको अटुट श्रोत हो, स्वास्थानी ब्रत कथा । हिन्दू देवादिदेव शिवका चतुर पुत्र स्कन्दकुमार र अगस्त्य मुनिबीचको सम्वादको सँगोलोको रुपमा रहेको स्वस्थानी ब्रतकथा रातको समयमा वाचन गर्ने, सुन्ने र लामो समयसम्म अटुट ब्रत बस्ने हिन्दू धार्मिक प्रचलन नै स्वस्थानी ब्रत हो ।
यो पर्व पौष शुल्क पुर्णिमा देखि माघ शुल्क पुर्णिमा सम्म एक महिना चल्दछ। स्वस्थानी व्रत विशेषत: हिन्दु धर्म मान्ने नेपाली महिलाहरूले लिन्छन। तर आजकाल केहीकेही पुरुषहरुले पनि यो व्रत लिएको पाईन्छ। सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मीक जनविश्वास रहेको छ । विवाहित महिलाले पतिको दिर्घायुको कामना गरेर र अविवाहतिले असल पति पाउँ भनी स्वास्थानी ब्रत बस्ने गर्दछन् । स्वास्थानी व्रत गर्दा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास पनि रहेको छ ।स्वस्थानी व्रतमा व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहगाउने ब्रत विधि छ ।सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामनागरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।
काठमाडौ, साखुँस्थित शालीनदि लगायतका विभिन्न स्थानमा स्वस्थानी व्रत मेला लाग्ने गर्दछ। पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।स्वस्थानीको अहिलेसम्म भेटिएको सबभन्दा पुरानो मन्दिर वसन्तपुर दरबार क्षेत्रस्थित तानाबहालमा छ, जुन करिब चार सय वर्ष पुरानो हो ।