Home समाचार भारत लैजाने क्रममा तीन किशोरीको उद्धार

भारत लैजाने क्रममा तीन किशोरीको उद्धार

२३ पुस, काठमाडौं । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट  माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले भारत तर्फ लैजादै गरेका तीन किशोरीको उद्धार गरेको छ ।

सङ्खुवासभा मकालु गाउँपालिकाका १५ र १६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो ।  उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिए । सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँ लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ । शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको रु नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको ढकालको भनाइ छ ।  उद्धार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको छ ।

पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव वेचविखन हुने क्रम बढ्दै गएको छ । गत मङ्सिरमा मात्र चोर बाटोको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दशजना किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोलीले उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read