Home समाचार ताप्लेजुङ आगलागी : डढेलो झनै फैलँदै, हेलिकप्टरबाट पानी खनाएपछि पाथीभरा मन्दिर सुरक्षित

ताप्लेजुङ आगलागी : डढेलो झनै फैलँदै, हेलिकप्टरबाट पानी खनाएपछि पाथीभरा मन्दिर सुरक्षित

१४ पुस काठमाण्डौ । हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङको पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ ।

मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि सुरु भएको डढेलो मन्दिर परिसरमै पुगेपछि हिजो (सोमबार) हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए ।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेको र तत्कालका लागि मन्दिरको जोखिम हटेको प्रजिअ चापागाईँले बताए । तर आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकोले निभाउन कठिन भएको उनले बताए ।
आज पनि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रण गर्ने उनले बताए ।  स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको भए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि हिजो बिहान एक्कासी फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । रातको समयमा डढेलो केही कम भए पनि बिहान हावा चल्न थालेपछि फैलने गरेको प्रजिअ चापागाईँको भनाइ छ ।  डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने त्यहाँ रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ ।

आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read