राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी केन्द्रीय सदस्य टीका सङ्ग्रौला अर्थात् ज्वाला संग्रौलाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।
काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबि प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । गत शुक्रबार रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश आएलगत्तै सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएकी थिइन् ।
उनि लेख्छिन , ‘ ‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनु पर्या छ,’। त्यसपछि सङ्ग्रौलाले पटक–पटक स्टाटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति जारी राखेकी हुन्।
सङ्ग्रौलाको उक्त अभिव्यक्ति फौजदारी कसुर भएको र आफू कानुनको विद्यार्थी भएकाले कानुनको विद्यार्थीको रुपमा सङ्ग्रौलाको अभिव्यक्तिले आफ्नो मर्यादामाथि पनि आँच पुगेको निवेदनपत्रमा उल्लेख छ । अदालत कसैप्रति भयभीत र पूर्वाग्रही नहुने भन्दै केसीले सङ्ग्रौलालाई तत्काल पक्राउ गरी न्याय प्रशासन ऐन २०७३त्रिहतरको दफा १७ (४) बमोजिम १ वर्ष कैद र १० हजार रुपैयाँ सजायको माग गरेका छन् ।
